फुलबारी, ०२ जुन (सिलगढी क्रोनिकल) – उत्तर बंगालको चिया उद्योगको भविष्यलाई लिएर मंगलबार उत्तरकन्यामा एक महत्वपूर्ण बैठक सम्पन्न भयो। बैठकमा बन्द रहेका चिया बगान पुनः सञ्चालन गर्ने, चिया श्रमिकहरूको कल्याण तथा उद्योगको समग्र विकासका विषयमा विस्तृत छलफल गरियो।
बैठकमा उत्तर बंगाल विकास मन्त्री निशीथ प्रमाणिक, सांसद राजु बिष्ट, सांसद मनोज टिग्गा, विधायक विशाल लामा, अन्य जनप्रतिनिधि, टी बोर्डका अधिकारी तथा प्रशासनिक प्रतिनिधिहरू सहभागी थिए।
बैठकमा चिया उद्योगको वर्तमान अवस्था र श्रमिकहरूले भोगिरहेका समस्याबारे समीक्षा गरिएको थियो। श्रमिकहरूको स्वास्थ्य सेवा, शिक्षा, सामाजिक सुरक्षा तथा जीवनस्तर सुधारका उपायहरूबारे पनि छलफल भयो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद राजु बिष्टले प्रधानमन्त्री चिया श्रमिक कल्याण योजनाअन्तर्गत १,००० करोड रुपैयाँ विनियोजन गरिएको बताए। उनले दाबी गरे कि असम सरकारले उक्त रकममध्ये करिब ७०० करोड रुपैयाँ उपयोग गरिसकेको भए पनि उत्तर बंगालका लागि छुट्याइएको करिब ३१३ करोड रुपैयाँ तत्कालीन तृणमूल सरकारद्वारा केन्द्रमा आवश्यक प्रस्ताव नपठाइएकाले प्रयोग हुन सकेन।
उनले बाँकी रकम चिया श्रमिकहरूको कल्याण, स्वास्थ्य सेवा तथा पूर्वाधार विकासका लागि खर्च गरिने बताए।
बिष्टले उत्तर बंगालमा कुनै पनि चिया बगान बन्द नरहने दाबी गर्दै बन्द भएका सबै चिया बगानलाई सकेसम्म चाँडो पुनः सञ्चालन गर्ने प्रयास गरिने बताए।
उनले केही स्थानमा चिया बगान बन्द गरी त्यसको जमिनमा होटल परियोजना सञ्चालन गर्ने प्रयास भइरहेको आरोप पनि लगाए। उनले यस्ता प्रयासलाई अनुमति नदिइने र चिया बगानको जमिनमा चिया खेती नै जारी रहनुपर्ने बताए।
चिया श्रमिकहरूको हित संरक्षण तथा चिया उद्योगलाई थप सुदृढ बनाउन आवश्यक कदम चालिने र आगामी दिनमा थप छलफलमार्फत विस्तृत योजना तयार गरिने उनले बताए।

