फुलबारी, ३० मे (सिलगढी क्रोनिकल) – अवैध लागूऔषध कारोबारविरुद्धको ठूलो कारबाहीमा न्यू जलपाइगुडी प्रहरीले शुक्रबार राति सिलगढीजलपाइगुडी राष्ट्रिय राजमार्गअन्तर्गत फुलबारी नजिकको जियागञ्ज क्षेत्रमा एउटा सानो मालवाहक सवारीबाट करिब ४५०० बोतल प्रतिबन्धित खोकीको सिरप बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा उक्त क्षेत्रमा अभियान सञ्चालन गरिएको थियो। अभियानका क्रममा सवारीलाई रोकेर तलासी लिँदा ३० कार्टुनमा राखिएको प्रतिबन्धित खोकीको सिरप फेला परेको हो।
पक्राउ पर्नेहरूमा सिलगढीको हाकिमपाडाका आलोक कुण्डु, सवारी चालक प्रसेनजित मुखर्जी तथा सहचालक सुरजित हल्दार रहेका छन्। प्रसेनजित मुखर्जी र सुरजित हल्दार दुवै हावडाका बासिन्दा हुन्।
प्रारम्भिक अनुसन्धानमा बरामद सिरपको खेप तस्करीको उद्देश्यले सिलगढीतर्फ ल्याइँदै गरेको आशंका गरिएको छ। बरामद सिरपको बजार मूल्य लाखौं रुपैयाँ बराबर रहेको बताइएको छ।
प्रहरीले सम्बन्धित धाराअन्तर्गत मुद्दा दर्ता गरी शनिबार आरोपितहरूलाई जलपाइगुडी जिल्ला अदालतमा पेश गरेको छ।

